रौतहट। सुशासन, भ्रष्टाचार, नातावाद, कृपावाद, जातिवाद तथा राज्य व्यवस्थामा देखिएका विकृतिविरुद्ध भएको २०८२ साल भदौ २३–२४ गतेको ऐतिहासिक जनविद्रोहले नेपालको राजनीतिक इतिहासमा नयाँ अध्याय थपेको थियो। उक्त आन्दोलनका क्रममा राज्यले अर्बौं होइन, खर्बौं रुपैयाँ बराबरको धनमालको क्षति व्यहोर्नुपरेको, सयौं नागरिकले ज्यान गुमाएको तथा करिब २,७०० जना आन्दोलनकारी घाइते तथा अंगभंग भएको उल्लेख गरिन्छ। आन्दोलनको मूल उद्देश्य सुशासन, पारदर्शिता र जनउत्तरदायी शासन व्यवस्था स्थापना गर्नु थियो।
यसै आन्दोलनमा घाइते भई नेपाल सरकारबाट घाइते परिचयपत्र प्राप्त गरेका रौतहटको दुर्गा भगवती गाउँपालिका–३, मत्सरी निवासी शिवम कुमार झालाई

रोजगारी प्रदान गर्दै दुर्गा भगवती गाउँपालिकाले आन्दोलनमा सहभागी घाइतेप्रति सम्मान व्यक्त गरेको स्थानीयहरूको भनाइ छ। यस कार्यले मधेश प्रदेशमै जनआन्दोलनका घाइतेलाई रोजगारी उपलब्ध गराउने पहिलो स्थानीय तहका रूपमा दुर्गा भगवती गाउँपालिकाले आफ्नो पहिचान स्थापित गरेको दाबी पनि गरिएको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनिष कुमार झाको कार्यकाल सुरु भएपछि पालिकाको प्रशासनिक कार्यसम्पादनमा केही सकारात्मक परिवर्तन देखिन थालेको भन्दै स्थानीयवासीहरूले प्रतिक्रिया दिएका छन्। सेवाग्राहीप्रति उत्तरदायित्व, कार्यालयको नियमित सञ्चालन तथा सेवा प्रवाहलाई व्यवस्थित बनाउन उनले प्रयास गरिरहेको अनुभूति जनस्तरमा हुन थालेको बताइन्छ।
दुर्गा भगवती गाउँपालिकामा विगतदेखि नै निर्वाचित जनप्रतिनिधिहरूबाट सेवा प्रवाहमा पक्षपात, पहुँचका आधारमा काम हुने तथा सर्वसाधारणले समान व्यवहार नपाउने गुनासो पटक–पटक उठ्दै आएको थियो। यद्यपि प्रमुख प्रशासकीय अधिकृत मनिष कुमार झाको आगमनपछि प्रशासनिक प्रक्रियामा केही सुधार आएको र सेवाग्राहीले सहज रूपमा सेवा पाउन थालेको स्थानीयको अनुभव रहेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा विगतदेखि नै विभिन्न विषयमा उजुरीहरूको चाङ रहेको यस गाउँपालिकामा प्रशासनिक सुधार, पारदर्शिता र सुशासनको वातावरण निर्माण गर्ने दिशामा प्रारम्भिक प्रयास देखिन थालेको भन्दै स्थानीयले आशा व्यक्त गरेका छन्। उनीहरूले सुधारको यो अभियानलाई निरन्तरता दिँदै भ्रष्टाचार नियन्त्रण, पारदर्शी सेवा प्रवाह, कानुनको समान कार्यान्वयन तथा जनताको विश्वास जित्ने दिशामा गाउँपालिकाले अझ प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औँल्याएका छन्।

स्थानीयवासीका अनुसार सुशासन कुनै एक व्यक्तिको प्रयासले मात्र सम्भव हुँदैन। जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दल तथा नागरिक समाज सबै पक्षको समान प्रतिबद्धता र सहकार्यबाट मात्र स्थानीय सरकारप्रति जनविश्वास अझ बलियो बन्न सक्छ। दुर्गा भगवती गाउँपालिकामा सुरु भएको भनिएको सुधारको क्रमलाई संस्थागत गर्न सके त्यसले अन्य स्थानीय तहका लागि पनि उदाहरणीय अभ्यास बन्न सक्ने विश्वास व्यक्त गरिएको छ।
