रौतहट। आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले रौतहटमा वडा–स्तरसम्म संगठन विस्तार, कार्यकर्ता सशक्तीकरण तथा पार्टी शुद्धीकरण अभियानलाई तीव्र बनाएको छ। सोही अभियानअन्तर्गत आयोजित वडा–स्तरीय प्रशिक्षण तथा पार्टी शुद्धीकरण कार्यक्रम भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कार्यसमिति सदस्य, पूर्वमन्त्री, रौतहट निर्वाचन क्षेत्र नं. १ का उम्मेदवार तथा पूर्व संविधानसभा सदस्य अनिल कुमार झा प्रमुख वक्ताका रूपमा सहभागी हुनुभएको थियो। उहाँले पार्टीलाई आगामी निर्वाचनका लागि थप सुदृढ, अनुशासित र जनउत्तरदायी बनाउन वडा तहदेखि नै संगठन बलियो बनाउनुपर्ने आवश्यकता औँल्याउनुभयो।
उहाँले कार्यकर्तालाई पार्टीको विचार, सिद्धान्त, लोकतान्त्रिक मूल्य–मान्यता र जनताप्रतिको उत्तरदायित्वलाई आत्मसात् गर्दै घरदैलो अभियानलाई प्रभावकारी बनाउन आग्रह गर्नुभयो। साथै, पार्टीभित्र अनुशासन, पारदर्शिता र एकताको भावना कायम राख्दै संगठनलाई अझ सशक्त बनाउनु नै शुद्धीकरण अभियानको मुख्य उद्देश्य रहेको उहाँको भनाइ थियो।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रमोद गुरागाईं, देवी तिमलसिना, नेपाली कांग्रेस रौतहटका जिल्ला सभापति तथा जिल्लाका विभिन्न स्थानीय तहका प्रमुख एवं जनप्रतिनिधिहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। वक्ताहरूले पार्टीलाई जनतामाझ अझ विश्वासिलो, जिम्मेवार र सक्रिय राजनीतिक शक्तिका रूपमा स्थापित गर्न संगठनात्मक प्रशिक्षण र आन्तरिक सुदृढीकरण अपरिहार्य रहेको धारणा राख्नुभयो।
प्रशिक्षण कार्यक्रममा पार्टीको संगठन विस्तार, सदस्यता व्यवस्थापन, निर्वाचन तयारी, जनसम्पर्क अभिवृद्धि, कार्यकर्ताको भूमिका, सुशासन, लोकतान्त्रिक आचरण तथा पार्टी अनुशासनलगायत विविध विषयमा प्रशिक्षण दिइएको थियो। सहभागी कार्यकर्ताहरूले आगामी निर्वाचनमा पार्टीको जित सुनिश्चित गर्न एकताबद्ध भएर सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए।
सयौं नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीय नागरिकहरूको उत्साहजनक सहभागितामा सम्पन्न उक्त कार्यक्रमले नेपाली कांग्रेस रौतहटमा संगठनात्मक गतिविधि थप सशक्त बन्दै गएको सन्देश दिएको सहभागीहरूको भनाइ छ। स्थानीय निर्वाचनको तयारीलाई केन्द्रमा राख्दै पार्टीले आगामी दिनमा पनि यस्ता प्रशिक्षण, संगठन सुदृढीकरण तथा पार्टी शुद्धीकरण अभियानलाई वडा तहदेखि निरन्तर सञ्चालन गर्ने जनाएको छ।
