लन्डन – युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युक्रेन र अमेरिकाबीचको सम्बन्ध निरन्तर कायम रहने बताएका छन्। लन्डनमा आयोजित युरोपेली देशहरूको सम्मेलनमा बोल्दै उनले युक्रेनको सुरक्षाका लागि अमेरिका महत्वपूर्ण साझेदार रहेको उल्लेख गरे।
जेलेन्स्कीले युक्रेनको रक्षा र आर्थिक पुनर्निर्माणका लागि अमेरिकासँग खनिज सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न आफू तयार रहेको स्पष्ट पारे। यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको वार्ता तनावपूर्ण सकिएको थियो। तर, उनले अमेरिकासँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता दोहोर्याए।
अमेरिकासँगको छलफलपछि जेलेन्स्की बेलायती प्रधानमन्त्री केइर स्टेइमरसँग भेट्न डाउनिङ स्ट्रिट पुगे। उक्त भेटमा बेलायतले युक्रेनलाई २.८ अर्ब अमेरिकी डलर ऋण प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गर्यो। साथै, युरोपेली नेताहरूको बैठकले युक्रेनलाई समर्थन जारी राख्ने निर्णय गरेको छ।
युक्रेनको रक्षा सुनिश्चित गर्न युरोपका १८ देशहरूले गठबन्धन निर्माण गर्ने सहमति जनाएका छन्। यो पहलले युक्रेनलाई दीर्घकालीन सहयोग पुर्याउने विश्वास गरिएको छ।
