काठमाडौं । भ्रष्टाचार, नातावाद, कृपावाद, जातिवाद, अहंकार र तानाशाही प्रवृत्तिको अन्त्य गर्दै सुशासन स्थापनाको मागसहित भएको भदौ २३–२४ को जेन्जी जनविद्रोहका शहीद परिवार तथा घाइतेहरूले अझैसम्म न्याय, सम्मान र राज्यको उचित सम्बोधन नपाएको गुनासो गरेका छन्। आन्दोलनका क्रममा सयौंले ज्यान गुमाएको, हजारौं घाइते भएको तथा राज्यको बेथिति अन्त्यका लागि जीवनको पर्वाह नगरी सडकमा उत्रिएका नागरिकप्रति सरकारले अपेक्षित संवेदनशीलता नदेखाएको उनीहरूको आरोप छ।
घाइते तथा शहीद परिवारका अनुसार आन्दोलनमा सहभागी धेरै व्यक्तिहरू अहिले पनि शारीरिक, मानसिक, सामाजिक तथा आर्थिक समस्यासँग जुधिरहेका छन्। उनीहरूका भनाइअनुसार राज्यबाट अपेक्षित सहयोग, उपचार, पुनःस्थापना तथा सम्मान नपाउँदा धेरै घाइते मानसिक तनाव र अवसाद (डिप्रेसन) को अवस्थासम्म पुगेका छन्।
घाइते जेन्जी नेपालका अध्यक्ष बादल राईले सरकारले शहीद परिवार र घाइतेप्रति उदासीन व्यवहार गरेको आरोप लगाउँदै अब पनि उनीहरूको आवाज नसुनिए सिंहदरबार केन्द्रित आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन्। उनका अनुसार हालसम्म सम्बन्धित निकायले औपचारिक भेटघाट वा सार्थक छलफलसमेत नगरेकाले आन्दोलनको विकल्प नरहेको अवस्था सिर्जना भएको छ।
यसैबीच, आन्दोलनका क्रममा गम्भीर घाइते भई विगत ११ महिनादेखि कोमामा रहेका दौलत थापाको विषयलाई लिएर पनि राज्यको भूमिकामाथि प्रश्न उठाइएको छ। आन्दोलन पक्षका व्यक्तिहरूले दौलत थापालाई “जीवित शहीद” को रूपमा सम्मान गरिनुपर्ने माग गर्दै आएका छन्। उनीहरूको भनाइमा, लामो समयदेखि कोमामा रहेका दौलत थापाको अवस्था र परिवारको पीडाप्रति राज्यले आवश्यक ध्यान नदिएको छ।

यही सन्दर्भमा भने मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य नागेन्द्र साहको भूमिका उल्लेखनीय रहेको भन्दै विभिन्न पक्षबाट प्रशंसा गरिएको छ। आन्दोलन पक्षका अनुसार मन्त्री साहले दौलत थापाको उपचार, परिवारको अवस्थाबारे चासो राख्दै प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलगायत सम्बन्धित निकायमा पहल गरेका छन्। साथै, उनले व्यक्तिगत रूपमा आफ्नो एक महिनाको तलबसमेत दौलत थापाको उपचारका लागि सहयोगस्वरूप उपलब्ध गराएको बताइएको छ।
आन्दोलन पक्षले मन्त्री साहलाई मनकारी, विशाल हृदय भएका तथा पीडितको पक्षमा उभिने जनप्रतिनिधिका रूपमा चित्रण गर्दै अन्य जिम्मेवार पदाधिकारीले पनि यस्तो मानवीय संवेदनशीलताबाट सिक्नुपर्ने धारणा व्यक्त गरेका छन्।

आन्दोलनका प्रतिनिधिहरूले २०६२/६३ को जनआन्दोलनमा गम्भीर घाइते भएका मुकेश कायस्थलाई राज्यले “जीवित शहीद” को रूपमा सम्मान गरेको उदाहरण प्रस्तुत गर्दै, दौलत थापाको विषयमा पनि सरकारले समान संवेदनशीलता र न्यायपूर्ण निर्णय गर्नुपर्ने माग गरेका छन्। उनीहरूको भनाइमा, राज्यले सबै आन्दोलनका पीडितप्रति समान व्यवहार गर्नुपर्ने संवैधानिक तथा नैतिक दायित्व निर्वाह गर्न आवश्यक छ।
जेन्जी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूले आफ्नो मुख्य माग न्याय, सम्मान, उपचार र पुनःस्थापनाको व्यवस्था रहेको बताउँदै सरकारसँग यथाशीघ्र औपचारिक संवाद, समस्याको समाधान तथा आवश्यक निर्णय गर्न आग्रह गरेका छन्। उनीहरूका अनुसार माग सम्बोधनमा ढिलाइ भए आन्दोलनलाई थप सशक्त बनाइनेछ।
उता, सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आन्दोलन पक्षले शहीद परिवार र घाइतेका विषयलाई प्राथमिकतामा राखेर उनीहरूको सम्मान, उपचार र पुनःस्थापनाको स्पष्ट नीति ल्याउनुपर्ने माग दोहोर्याएका छन्।
“राज्यका लागि लड्दा हाम्रो परिवारको भविष्य नै अन्धकार बन्यो” — दौलत थापाकी श्रीमती यमकला ठाकुरी
काठमाडौं। जेन्जी आन्दोलनका क्रममा गम्भीर घाइते भई विगत ११ महिनादेखि कोमामा रहेका दौलत थापाकी श्रीमती यमकला ठाकुरी ले आफ्नो परिवारले भोगिरहेको पीडा सुनाउँदै राज्यले आफूहरूलाई पूर्ण रूपमा बेवास्ता गरेको गुनासो गरेकी छन्।
उनले आफ्ना श्रीमान् राज्यमा सुशासन, न्याय र परिवर्तनको आशामा आन्दोलनमा सहभागी भएको स्मरण गर्दै अहिले भने त्यही राज्यले आफ्नो परिवारलाई असहाय अवस्थामा छाडेको आरोप लगाइन्।
यमकला ठाकुरीले भनिन्, “राज्यका लागि लडेर मेरो श्रीमान्ले आफ्नो जीवन नै बर्बाद बनाउनुभयो। उहाँ हाम्रो घरको एक मात्र कमाउने व्यक्ति हुनुहुन्थ्यो। ड्राइभरको काम गरेर घरपरिवार चलाउनुहुन्थ्यो। आज ११ महिना बितिसक्यो, उहाँ अझै कोमामै हुनुहुन्छ। उहाँलाई होस आएको छैन। हाम्रो सबै सपना एकैछिनमा चकनाचुर भयो।”
आर्थिक, मानसिक र सामाजिक रूपमा अत्यन्त कठिन अवस्था झेलिरहेको बताउँदै उनले राज्यसँग भावुक प्रश्न गरिन्, “अब हामी के गर्ने? हाम्रो परिवार कसले पाल्ने? हामीलाई न्याय कसले दिने? राज्य त हाम्रो पीडा देख्नै नसक्ने दृष्टिविहीन र हाम्रो आवाज सुन्नै नसक्ने बहिरोजस्तो भएको छ।”
उनले वर्तमान सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै भनिन्, “अहिलेको सरकारले मानवीय संवेदनशीलता नै गुमाएको जस्तो लाग्छ। पीडितको दुःख बुझ्ने, सुन्ने र साथ दिने दायित्व राज्यको हो। तर हामीले त्यो अनुभूति गर्न सकेका छैनौं।”

यमकला ठाकुरीले आफ्नो परिवार अत्यन्त निराशाको अवस्थामा पुगेको स्मरण गर्दै केही व्यक्तिको सहयोगले मात्र आफूहरूमा बाँच्ने आशा पलाएको बताइन्।
उनले भनिन्, “यदि नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री माननीय नागेन्द्र साह र घाइते जेन्जी नेपालका महासचिव संजीव झा हाम्रो साथमा नउभिनुभएको भए, हाम्रो परिवार आत्महत्या गर्नुपर्ने अवस्थासम्म पुगिसकेको थियो। पहिले त बाँच्ने इच्छा नै हराइसकेको थियो। उहाँहरूको साथ, सहयोग र हौसलाले आज फेरि बाँच्ने साहस दिएको छ।”
उनका अनुसार मन्त्री नागेन्द्र साहले दौलत थापाको उपचारका लागि व्यक्तिगत रूपमा सहयोग गर्नुका साथै सम्बन्धित निकायमा पहल गरिरहेका छन् भने घाइते जेन्जी नेपालका महासचिव संजीव झाले आन्दोलनका घाइते तथा शहीद परिवारको अभिभावकत्व निर्वाह गर्दै निरन्तर साथ र सहयोग गरिरहेका छन्।
“घाइतेहरूको लागि राज्य छैन भन्ने अनुभूति हामीले गरेका छौं,” उनले थपिन्, “तर हाम्रो संस्थाका महासचिव संजीव झाले सबै घाइतेको अभिभावक बनेर जुन साथ दिनुभएको छ, त्यसले हामीलाई अझै आशा, भरोसा र विश्वास दिएको छ। हामीलाई लाग्छ, हाम्रो पीडामा साथ दिने मानिसहरू अझै बाँकी छन्।”

यमकला ठाकुरीले सरकारसँग भावुक अपिल गर्दै शहीद परिवार र घाइतेहरूको पीडालाई राजनीतिक विषयभन्दा माथि उठेर मानवीय दृष्टिकोणबाट हेर्न आग्रह गरिन्। उनका अनुसार कोमामा रहेका दौलत थापाजस्ता गम्भीर घाइतेहरूको उपचार, परिवारको जीवनयापन र पुनःस्थापनाको जिम्मेवारी राज्यले लिनुपर्ने बेला धेरैअघि नै आइसकेको छ।
उनले अन्त्यमा भनिन्, “हामीलाई दया होइन, न्याय चाहिएको हो। राज्यले आफ्ना नागरिकको त्यागको सम्मान गरोस्, हाम्रो पीडा बुझोस् र हाम्रो परिवारलाई बाँच्ने आधार प्रदान गरोस्।”
