
काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले नागरिकका गुनासा प्रभावकारी रूपमा सम्बोधन गर्दै शान्ति सुरक्षा कायम गर्न र सेवामुखी भावनाका साथ काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्।
प्रहरी प्रधान कार्यालयबाट बुधबार भर्चुअल माध्यममार्फत प्रहरी कर्मचारीलाई सम्बोधन गर्दै उनले दीपावली, नेपाल संवत् र छठ पर्वलाई लक्षित गरी सुरक्षा व्यवस्था थप मजबुत बनाउनुपर्नेमा जोड दिए। चाडपर्वको समयमा चोरी, लुटपाटलगायतका आपराधिक घटना हुन नदिन विशेष सुरक्षा योजना बनाएर प्रहरी परिचालन गर्न उनले निर्देशन दिएका हुन्।
सवारी दुर्घटना रोकथाममा विशेष जोड
महानिरीक्षक कार्कीले सडक दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गरी सवारीसाधनको यान्त्रिक अवस्था परीक्षणलाई प्रभावकारी बनाउन आग्रह गरे। मादक पदार्थ वा लागुऔषध सेवन गरेर सवारी चलाउने, क्षमताभन्दा बढी यात्रु तथा सामान बोक्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने कार्य नियन्त्रणमा विशेष ध्यान दिन उनले निर्देशन दिए।
यात्रुको सुरक्षित र सहज आवागमन सुनिश्चित गर्न नियम उल्लङ्घन गर्नेमाथि कारबाहीसँगै जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो। सीमा क्षेत्रमा हुने तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण र फरार प्रतिवादीको खोजीलाई समेत प्राथमिकतामा राख्न उनले निर्देशन दिए।
जुवातास र विस्फोटक पदार्थको कारोबारमा निगरानी
चाडपर्वका अवसरमा जुवातास खेल्ने, पटका तथा विस्फोटक पदार्थको अवैध कारोबार गर्ने र सामाजिक सद्भावमा असर पुर्याउने गतिविधि रोक्न प्रहरीलाई सक्रिय रहन महानिरीक्षक कार्कीले आग्रह गरेका छन्।
काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को सुरक्षा व्यवस्थापनमा कुनै कमजोरी हुन नदिन पनि उनले निर्देशन दिएका छन्। प्रतियोगिताका क्रममा हुन सक्ने अनलाइन बेटिङलगायत गैरकानुनी गतिविधि पहिचान गर्न उपलब्ध प्रविधिको प्रभावकारी उपयोग गर्ने र संलग्न व्यक्तिलाई कानुनी दायरामा ल्याउने उनले बताएका छन्।
विपद् जोखिम भएका क्षेत्रमा पूर्वतयारी गर्न निर्देशन
देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हावाहुरी र भारी वर्षाको सम्भावना रहेकाले जोखिमयुक्त क्षेत्र पहिचान गरी पूर्वतयारी गर्न पनि महानिरीक्षक कार्कीले निर्देशन दिएका छन्। सम्भावित विपद्लाई ध्यानमा राखेर उच्च सतर्कतासहित प्रहरी परिचालन गर्नुपर्ने उनको भनाइ थियो।
प्रदेश तथा जिल्ला प्रहरी प्रमुखले आफ्नो कार्यक्षेत्रमा नियमित अनुगमन, निरीक्षण र सुपरिवेक्षण गरी देखिएका कमजोरी समयमै सुधार गर्नुपर्ने उनले उल्लेख गरे।
कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सुशीलसिंह राठौर तथा सातै प्रदेशका प्रहरी प्रमुखले आ–आफ्नो क्षेत्रको शान्ति सुरक्षाको अवस्थाबारे जानकारी गराएका थिए।
भर्चुअल कार्यक्रममा केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेसहित उपत्यका तथा प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय र राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो।