
काठमाडौं, ११ कात्तिक । मुगुमा खानेपानी योजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेको देखाएर सरकारी रकम भुक्तानी लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय मुगुका तत्कालीन प्रमुख राजीव रिमाल, तत्कालीन लेखापाल रूनबहादुर सेजुवाल र परामर्शदाता कम्पनी एलाइड इन्जिनियरिङ प्रालिका प्रबन्ध निर्देशक चन्द्रबहादुर बुढाविरुद्ध विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो। आयोगले १३ वटा खानेपानी योजनाको डीपीआर निर्माणका नाममा ३९ लाख ४० हजार ३०९ रुपैयाँ अनियमित रूपमा भुक्तानी गरिएको आरोप लगाएको छ।
१३ योजनाको काममा कागजात किर्ते गरेको आरोप
अख्तियारको अनुसन्धानअनुसार डीपीआर तयार गर्न परामर्श सेवा खरिद गर्ने क्रममा सार्वजनिक खरिदसम्बन्धी कानुनी व्यवस्थाविपरीत योजनालाई दुईवटा प्याकेजमा विभाजन गरिएको थियो।
पहिलो प्याकेजमा अल्का साँघु, थर्पना, बारीलिउडी, भुजगुम्बा, खत्याड बृहत्, गुराँसे, जम्पै, गम्था र जोगिलेख गरी नौवटा योजना समावेश थिए। दोस्रो प्याकेजमा जिमा, छोरेपानीदेखि महादेवसम्म बृहत्, सोरू बृहत् र खत्याड गाउँपालिकाको नदै बृहत् गरी चारवटा योजना राखिएको थियो।
आयोगका अनुसार डीपीआर निर्माण प्रक्रियामा मूल्याङ्कन समिति गठन भएको देखाउने गरी कागजात तयार गरिएको थियो। समितिका निर्णय तथा हस्ताक्षरसमेत नक्कली बनाइएको अनुसन्धानबाट खुलेको अख्तियारको दाबी छ।
वास्तविक रूपमा डीपीआर तयार नगरी झुट्टा बिल तथा भरपाईका आधारमा परामर्शदाता कम्पनीलाई रकम भुक्तानी गरिएको र यसबाट प्रदेश तथा सङ्घीय सरकारलाई आर्थिक नोक्सानी पुगेको आयोगले जनाएको छ।
तीनै प्रतिवादीसँग बिगो असुल र सजायको माग
अख्तियारले तत्कालीन कार्यालय प्रमुख रिमाल तथा लेखापाल सेजुवालविरुद्ध जनही ३९ लाख ४० हजार ३०९ रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो असुल, जरिवाना र कैद सजायको माग गरेको छ।
त्यस्तै, गैरकानुनी लाभ प्राप्त गर्ने कार्यमा सहयोग गरेको आरोपमा परामर्शदाता कम्पनीका प्रबन्ध निर्देशक बुढालाई पनि मुख्य कसुरदारसरह बिगो कायम गरी कैद, जरिवाना तथा बिगो असुलउपर गर्न माग गरिएको आयोगले जनाएको छ।
आयोगका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिमा उल्लेख भएअनुसार उक्त रकम डीपीआर निर्माणका नाममा भुक्तानी गरिएको थियो। अब आरोपपत्रमाथि विशेष अदालतबाट न्यायिक प्रक्रिया अघि बढ्नेछ।