सेवनमा पनि सीमा तोकियो

काठमाडौं, ११ कात्तिक । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले इनर्जी ड्रिङ्क्सको सेवनमा सावधानी अपनाउन उपभोक्तालाई आग्रह गरेको छ। विशेषगरी बालबालिका, गर्भवती तथा सुत्केरी महिला, मधुमेहका बिरामी र क्याफिनप्रति संवेदनशील व्यक्तिलाई यस्ता पेय पदार्थबाट टाढा रहन विभागले सुझाव दिएको छ।
इनर्जी ड्रिङ्क्सको सुरक्षित प्रयोगबारे उपभोक्ता तथा उत्पादकलाई जानकारी गराउँदै विभागले स्वस्थ व्यक्तिले समेत दैनिक दुई क्यानभन्दा बढी सेवन नगर्न अनुरोध गरेको हो।
विभागका अनुसार नेपालमा हाल १७ वटा उद्योगले आवश्यक अनुमति लिएर इनर्जी ड्रिङ्क्स उत्पादन तथा बजारमा बिक्री गर्दै आएका छन्। उत्पादनको लेबलमा उल्लेख गरिएको विवरण र प्रयोगशालाबाट प्राप्त विश्लेषणअनुसार नेपाली बजारमा उपलब्ध इनर्जी ड्रिङ्क्सको एक क्यानमा करिब १०० मिलिग्राम क्याफिन रहेको पाइएको छ।
दैनिक क्याफिन सेवनमा सावधानी आवश्यक

क्याफिनको मात्रा निर्धारण गर्दा अन्तर्राष्ट्रिय संस्थाहरूले प्रस्तुत गरेका वैज्ञानिक आधारलाई समेत ध्यान दिइएको विभागले जनाएको छ।
युरोपेली खाद्य सुरक्षा प्राधिकरण (ईएफएसए) र अमेरिकी खाद्य तथा औषधि प्रशासन (एफडीए) का अनुसार स्वस्थ वयस्कले विभिन्न खाद्य तथा पेय पदार्थबाट प्राप्त गर्ने कुल क्याफिनको मात्रा दैनिक ४०० मिलिग्रामसम्म सीमित राख्न सक्ने आधार प्रस्तुत गरिएको छ।
नेपालमा उत्पादन हुने इनर्जी ड्रिङ्क्समा प्रतिक्यान प्रयोग गरिएको क्याफिनको मात्रा उक्त दैनिक सीमाको एक चौथाइभन्दा कम रहेको विभागको भनाइ छ। तर, चिया, कफी तथा अन्य क्याफिनयुक्त पदार्थबाट पनि क्याफिन शरीरमा पुग्ने भएकाले कुल सेवनको मात्रा ख्याल गर्नुपर्ने विभागले जनाएको छ।
पानी र पौष्टिक पेयको विकल्प होइन इनर्जी ड्रिङ्क्स
विभागले इनर्जी ड्रिङ्क्सलाई पानी, दूध, जुस तथा मोहीजस्ता पौष्टिक पेय पदार्थको सट्टा प्रयोग नगर्न उपभोक्तालाई सचेत गराएको छ। यस्ता पेय पदार्थलाई अन्य पेयमा मिसाएर सेवन गर्ने अभ्यासबाट पनि टाढा रहन सुझाव दिइएको छ।
उत्पादक तथा विक्रेतालाई भने प्रचलित कानुनअनुसार अनुमति लिएर मात्रै विज्ञापन तथा प्रचारप्रसार गर्न विभागले निर्देशन दिएको छ। उत्पादनको लेबलमा उपभोगसम्बन्धी चेतावनी, क्याफिनको मात्रा र सुरक्षित प्रयोगबारे आवश्यक जानकारी स्पष्ट रूपमा उल्लेख गर्नुपर्नेमा पनि जोड दिइएको छ।
खाद्य गुणस्तरमा लापरबाही गर्नेलाई कारबाही
खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर कायम राख्न वैज्ञानिक तथ्य र अन्तर्राष्ट्रिय मापदण्डका आधारमा उपभोक्तालाई सही जानकारी दिनुपर्ने विभागको भनाइ छ।
खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ विपरीत उत्पादन, बिक्रीवितरण वा अन्य गतिविधि सञ्चालन गर्ने व्यवसायीमाथि प्रचलित कानुनअनुसार कारबाही गरिने विभागले स्पष्ट पारेको छ।
विभागले उपभोक्तालाई इनर्जी ड्रिङ्क्स खरिद तथा सेवन गर्दा उत्पादनको लेबल, क्याफिनको मात्रा र उल्लेख गरिएका चेतावनी सन्देशमा ध्यान दिनसमेत आग्रह गरेको छ।