
काठमाडौं, ११ कात्तिक । बङ्गालको खाडीमा उत्पन्न शक्तिशाली चक्रवात ‘अर्नब’का कारण नेपालको मौसम प्रभावित हुन थालेको छ। भारतको आन्ध्र प्रदेशको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरेको चक्रवातको प्रभावले नेपालमा पनि बादल लाग्ने क्रम बढेको छ। मौसम विज्ञान विभागले बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना औँल्याउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।
चक्रवातको प्रभाव आगामी केही दिनसम्म कायम रहने अनुमान गरिएको छ। यस अवधिमा देशका विभिन्न प्रदेशमा वर्षा हुनुका साथै उच्च हिमाली क्षेत्रमा हिमपात हुनसक्ने विभागले जनाएको छ।
विभागकी मौसमविद् बिनु महर्जनका अनुसार चक्रवातको प्रभावका कारण नेपालका केही भूभागमा मौसम बदली भइसकेको छ। हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको छ भने लुम्बिनीका केही स्थानमा बिहान हल्का वर्षा भएको थियो।
महर्जनले चक्रवात आन्ध्र प्रदेश र यानमको तटीय क्षेत्रबाट जमिनमा प्रवेश गरिसकेको जानकारी दिँदै यसको गति उत्तरपश्चिमतर्फ रहने बताउनुभयो। उहाँका अनुसार प्रणाली क्रमशः कमजोर हुँदै उत्तर प्रदेश र बिहार आसपास पुग्ने सम्भावना छ।
सातै प्रदेशमा वर्षा, केही स्थानमा अतिभारी हुनसक्ने
विभागको पूर्वानुमानअनुसार शनिबारसम्म कोशीदेखि सुदूरपश्चिमसम्मका सातै प्रदेशका हिमाली भूभागमा अधिकांश स्थानमा मध्यम वर्षा हुनसक्ने छ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका धेरै स्थानमा पनि वर्षाको सम्भावना रहेको छ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुनसक्ने देखिएको छ। ती प्रदेशका एक–दुई स्थानमा भने अतिभारी वर्षा हुने सम्भावना रहेको मौसमविद् महर्जनले जानकारी दिनुभयो।
कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा मेघगर्जन, चट्याङ तथा असिनासहित वर्षा हुनसक्ने भएकाले मौसमको अवस्थाबारे सचेत रहनुपर्ने विभागको भनाइ छ।
धानबाली भित्र्याउने किसानलाई सतर्क रहन आग्रह
मौसममा आउने परिवर्तनले कृषि उत्पादन, पर्यटन तथा यातायात क्षेत्रमा असर पार्नसक्ने देखिएको छ। विशेषगरी धानबाली भित्र्याउने समयमा वर्षा हुनसक्ने भएकाले किसानलाई मौसमको पूर्वानुमानअनुसार कृषि कार्यको व्यवस्थापन गर्न सुझाव दिइएको छ।
उच्च पहाडी तथा हिमाली क्षेत्रमा पदयात्रा र पर्वतारोहणका लागि जाने पर्यटकलाई पनि मौसम अनुकूल नभएसम्म जोखिमपूर्ण यात्रा नगर्न आग्रह गरिएको छ।
सम्भावित वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने र सडक अवरुद्ध हुने जोखिम रहन सक्छ। हवाई यातायातमा समेत प्रतिकूल असर पर्नसक्ने भएकाले यात्रु तथा सम्बन्धित निकायलाई आवश्यक तयारी गर्न सुझाव दिइएको छ।
मौसम विज्ञान विभागले प्रतिकूल मौसमबाट हुनसक्ने सम्भावित क्षति न्यूनीकरण गर्न सर्वसाधारणलाई सतर्क रहन र मौसमसम्बन्धी सूचनालाई नियमित रूपमा पछ्याउन आग्रह गरेको छ।