काठमाडौं, १० कात्तिक। उच्च पहाडी तथा हिमाली क्षेत्रमा प्रतिकूल मौसमको सम्भावना देखिएपछि अध्यागमन विभागले जोखिमयुक्त क्षेत्रमा पदयात्रा अनुमति दिन रोक लगाएको छ। विभागका अनुसार कात्तिक १२ देखि १४ गतेसम्म पदयात्री तथा पर्यटकलाई त्यस्ता क्षेत्रमा जान अनुमति दिइने छैन।
मौसम पूर्वानुमानअनुसार उक्त अवधिमा हिमपात, हिमआँधी र हिमपहिरोको जोखिम बढ्न सक्ने भएकाले सुरक्षालाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको विभागले जनाएको छ।
विभागले जोखिमयुक्त क्षेत्रमा पदयात्रा गर्ने योजना बनाएका स्वदेशी तथा विदेशी पर्यटकलाई यात्रा स्थगित गर्न र निषेधित क्षेत्रमा प्रवेश नगर्न आग्रह गरेको छ। साथै, पदयात्रा अनुमति वितरणको प्रक्रिया पनि कात्तिक १० गतेदेखि नै रोकिएको जानकारी दिइएको छ।
यसअघि नै जोखिमयुक्त क्षेत्रमा पदयात्रामा रहेका पर्यटक तथा पदयात्रीलाई मौसमको अवस्थाबारे सतर्क रहन र सुरक्षित स्थानमा बस्न विभागले अनुरोध गरेको छ।
प्रतिकूल मौसमका कारण हुन सक्ने सम्भावित दुर्घटना र मानवीय क्षति न्यूनीकरण गर्न विभागले सम्बन्धित सबैलाई सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको हो।